Tuesday , October 22 2019
Breaking News
Home / नेपाल / साइपाल हिमाल चढ्ने कसिए बझाङी चेली

साइपाल हिमाल चढ्ने कसिए बझाङी चेली

इन्द्रसरा खड्का

ललितपुर प्रदेशनम्बर ७ अथवा सुदुरपश्चिम को पहिचानको रुपमा रहेका दुई हिमाल अपि, साइपाल अपि दार्चुलामा र साइपाल हिमाल बझाङ जिल्लामा पर्दछन् । जसमध्ये बझाङमा रहेको साइपाल हिमाल चढ्ने आँट अहिले बझाङकै ४ जना चेलीहरुले गरेका छन् । उनीहरु चारैजना असोज ३१ गते साइपाल हिमाल चढ्ने भएका छन् ।

हालसम्म औपचारिक आरोहण कसैले नगरेका यी हिमालमा यी ४ चेलीले यो आँट गरेका छन् भने उनिहरुले कसरि हिमाल चढ्ने, हिमाल चढ्न कुन कुन तरिका अपनाउने भन्ने विषयमा उनीहरुले काठ्माडौँमा ३ महिनाको तालिम पनि लिसकेका छन् ।

हिमाल चढ्ने आँट राख्ने चेली बझाङको तल्कोट गाउँपालिका वडा नम्बर १ की २० वर्षीया सरस्वती थापा, सुर्मा गाउँपालिका वडा नम्बर ३ की २० वर्षीया पवित्रा बोहरा, साईपाल गाउँपालिका वडानम्बर ३ की २६ वर्षीया लक्ष्मी बुढा र साइपाल गाउँपालिका वडानम्बर ४ की २० वर्षीया संगिता रोकाया रहेका छन् ।

घरबाट साँझबिहान देखिने साइपालको चुचुरोमा चढ्ने उनीहरुले कल्पना समेत गरेका थिएनन् । छोरीलाई घरभन्दा बाहिर एक्लै निस्कन नदिने समाजमा हुर्केका चेलीले यस्तो सपना देखुन पनि कसरी तर, अहिले हिमाल चढ्ने अवसर पाउँदा भने उनीहरु निकै उत्साहित भएका छन् ।
रारा फिल्म्स प्रालिले यो अवसर दिएपछि आफुहरुमा हिमाल चढ्ने आँट आएको संगिता रोकायाले बताइन् ।

‘यार्सागुम्बा टिप्न यार्साको सिजनमा २, ३ महिना जति लेकमा जान्छौैँ । साइपाल हिमाल चाँदी जस्तै टल्लक सामुन्य टल्किन्छ । यो हिमालको टुप्पोमा गए कहाँ कहाँ देखिन्थ्यो होला यस्तै कुरा मनमा खेल्थे अहिले त्यही हिमालमा चढ्ने कुरा गर्दा आफैलाई सपना देखेको जस्तै महसुस हुन्छ’ भन्छिन अर्की किशोरी पवित्रा बोहरा ।

हिमालप्रतिको अन्धबिश्वास
प्रदेश नम्बर ७ अन्य प्रदेशभन्दा भक्तिभाव बढी मान्ने प्रदेश हो । त्यहाँ अग्ला डाँडामा देवताको बास हुन्छ भन्दै छोरीलाई डाँडा समेत चढ्न दिदैनन् । महिनावारी भएको बेला त झन हिमालको नामै लिन पाइदैन । यार्सा संकलन गर्न जाँदा पनि महिनावारी भएकोबेला घर फर्कनुपर्छ ।

अग्ला स्थान र टाकुराहरुमा देवता बस्छन् भन्ने मान्यताका कारण दिउँसो यार्सा खोजेपनि बासबस्न घर फर्कनुपर्छ । घरबाट २, ३ दिन पैदल हिडेर लेकमा पुग्दा पनि छाउभएको बेला घरमा फर्कनुपर्ने चलन अझै कायम रहेको पवित्रा बोहराले बताइन् ।

देवताको बसोबास गर्ने अग्ला हिमालमा जिवित देवी जाँदा अछुत हुन्छ भन्ने मान्यता अझै कायम छ । त्यसैले पनि फकर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन् । भन्छिन्,‘ कसैलाई नभने मात्रै लेकमा बस्न पाइन्छ । थाह भयो भने त त्यतिखेरनै फर्किहाल्नुपर्छ । महिनावारी भएका महिला मात्रै हैनन् । उनीसँग लसपस भएको पुरुषले समेत हिमाल जान नपाइने अन्धबिश्वास छ । पुरानो बिश्वासलाई तोड्दै गए त्यसको अनिष्ट हुन्छ भन्ने बिश्वासले अहिलेसम्म त्यहाँको हिमाल चढ्ने आँट कसैले गरेका छैनन् ।

घरबाटै सुरु हुन्छ समस्या
हिमाल चढ्ने कुरा गर्दा सुरुमा त उनीहरुकै परिवारले स्वीकारेनन् । एक त छोरी त्यसमाथी हिमाल चढ्ने कुरा गर्दा सुरुमा त घरपरिवारले यो कुरा सुन्दै सुनेन् । हिमाल चढ्ने कुरा गर्दा के कुरा गरेको भन्दै चारैजनाका घरपरिवारले गालि समेत गरे ।

तर, अवसर पाएकाले जसरी पनि हिमाल चढ्ने उनीहरुले ढिपीकसेपछि घरपरिवारले नस्वीकार्यपनि उनीहरु घरबाट निस्कीएका हुन् । हिमाल चढ्नु चानचुन कुरा हैन । एक छोरी मान्छे त्यो पनि अहिलेसम्म कोहि नचढेको हिमालमा यो आँट गर्नु नै ठुलो हो ।
अहिले हिमाल चढ्ने कुरा सामान्य जस्तै भइसक्यो । तर ,सुदरपश्चिममा छोरीलाई हेर्ने दृष्टिकोण अझै उस्तै छ । छोरी भएपछि घरकै काममा सिमित हुनुपर्ने मान्यता अझै कायम छ । छोरीले बाहिर गएको हिडडुल गरेको कुरा त्यो समाजले पचाउदैन । आफूहरुले बझाङबाट काठमाडौंसम्म आइपुग्दा पनि तीतामिठा थुप्रै कठिनाइ झेलेको बताए ।

अन्धविश्वासले गाँजिएको समाजका अगाडि छोरीले पनि अवसर पाए चुनौती चिर्दै सफलताको शिखर चुम्न सक्छन् भन्ने देखाउनु हामीहरुको उदेश्य हो उनीहरुले भने ।

Check Also

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल – नेपालयटाईम्स काठमाडौँ – डोमेन दर्ता अभिलेखमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *