Monday , June 24 2019
Breaking News
Home / बिचार / जेलिएको जम्मु-काश्मीर विवाद

जेलिएको जम्मु-काश्मीर विवाद

जयराम आचार्य/जेलिएको जम्मु-काश्मीर विवाद

जेलिएको जम्मु-काश्मीर विवाद

जम्मु–काश्मीरको विवादलाई चीन, भारत र पाकिस्तानको त्रिकोणात्मक आयामबाट हेर्नुपर्ने हुन्छ। चीनको भन्दा भारतको भौगोलिक अवस्थिति धेरै नै मजबुत छ। भारतसँग व्यापारका लागि सामुन्द्रिक सहजता जस्तो छ, त्यस्तो प्रकृतिको सहजता चीनसँग छैन। चीनले प्रयोग गर्ने व्यापारिक सामुन्द्रिक बाटो दक्षिण चीन सागरहुँदै मलक्का स्टेट भएर हिन्द महासागरसँग जोडिनु हो। मलक्का स्टेट चीनको सहज पहुँचमा छैन। यसमा भारत ज्यादा प्रभावी छ।

भारतले त्यो क्षेत्रमा हुने घटनाको सूचना संकलन गर्न जापानसँग मेरिटाइम सम्झौता गरेको छ भने सैनिक उपस्थितिसमेत धेरै गराएको छ।चीनका लागि यसकारण पनि पाकिस्तान एवम् जम्मु काश्मीर भूराजनीतिमा महत्वपूर्ण रहिआएको छ। त्यसैले पछिल्लो समय चीनले हिन्द महासागरसँग जोडिन वैकल्पिक बाटोको खोजीस्वरूप पाकिस्तानसँग चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) अन्तर्गत काम गरिरहेको छ। यो चीनको कस्गारदेखि पाकिस्तानको ग्वादर बन्दरगाहसम्मको भाग पर्छ। जसमा पाकिस्तान शासित जम्मु–काश्मीर क्षेत्र पनि पर्छ।

राजा हरिसिंहकालीन जम्मु–काश्मीर हेर्ने हो भने चीन र पाकिस्तानबीच सीमा जोडिने स्थिति हुँदैन । पाकिस्तानलाई बाहिर राखेर भारतले क्षेत्रीय राजनीतिमा जसरी प्रभाव जमाउन खोजेको छ र संरचनाहरू निर्माण गरिरहेको छ यसमा जम्मु–काश्मीर पनि एउटा विषय भएर आउँछ। आतङ्कवादलाई देखाएजसरी क्षेत्रीय र वैश्विक राजनीतिबाट पाकिस्तानलाई अलग्याउन खोजिएको छ, यसले पाकिस्तान क्षुब्ध देखिन्छ। यस्तो अवस्थामा दक्षिण एशियामा आर्थिक र सामरिक उदीयमान राष्ट्र भारतसँग शक्ति सन्तुलन राख्नका लागि पनि पाकिस्तानले चीनसँग सीमा जोड्न चाहेको हुन सक्छ। त्यसैले पाकिस्तानका लागि पनि जम्मु–काश्मीरको महत्व ज्यादा छ र लडाइँ लड्दै आएको छ।

प्राचीन भारतमा मौर्यहरूले शासन गर्दा जम्मु–काश्मीर यसैअन्तर्गत थियो। पाँचौँ शताब्दीदेखि १४ औँ शताब्दीसम्म जम्मु–काश्मीरमा हिन्दुहरूको साम्राज्य थियो। सन् १५८६ देखि यो क्षेत्र मुगलअन्तर्गत गयो भने यहाँ सन् १७५१ बाट डुरानी अफ्गानीले शासन गरेका थिए। त्यसपछि यहाँ सन् १८१९ मा पञ्जाबका महाराजा रणजीत सिंहले डुरानी अफ्गानीलाई हराएर शिख साम्राज्य स्थापना गरेका थिए। त्यसपछि सन् १८४६ मा यो क्षेत्रमा शिख र अङ्ग्रेजबीच युद्ध हुँदा शिखले युद्ध हारेको थियो। अङ्ग्रेजलाई युद्ध जिताउन शिखअन्तर्गतकै डोग्रा घरानाका गुलावसिंहले सहयोग गरेका थिए। यसवापत अङ्ग्रेजले यहाँ गुलावसिंहलाई राजा बनाइदिएका थिए। यिनै गुलावसिंहका पुत्र हुन् राजा हरिसिंह।

उपनिवेशकालीन समयमा भारतमा बेलायती र फ्रान्सेली उपनिवेशका अतिरिक्त स्वतन्त्र राज्य पनि थिए। सन् १९४७ मा बेलायतीहरूले भारत छोड्दाको विश्व राजनीति अमेरिकामा केन्द्रित भइसकेको थियो। पश्चिमाहरूको इच्छा यो थियो कि भारतलाई एकीकृत हुन नदिने। त्यस योजनाअन्तर्गत नै उनीहरूले लर्ड माउन्ट वेकनलाई भारत पठाएका थिए। लर्ड माउन्ट वेकनले धर्मका आधारमा दुई राज्य हुनुपर्ने सिद्धान्त विकास गरे। यो सिद्धान्तलाई महम्मद अलि जिन्नाले बोके र पाकिस्तान बनाए। हिन्दु र मुस्लिम धर्मका आधारमा क्रमशः भारत र पाकिस्तान दुई देश बन्न पुग्यो।भारतमा रहेका ५६५ वटा राज्यमध्ये ५६२ वटालाई गैरसैनिक प्रयासद्वारा सरदार बल्लभभाइ पटेलले एकताबद्ध गरिरहेका अवस्थामा जम्मु–काश्मीरका राजा हरिसिंहले आफू दुवैतर्फ नलागी स्वतन्त्र रहने घोषणा गरेका थिए।

करिव ७० प्रतिशत मुस्लिम र ३० प्रतिशत हिन्दु रहेका तल्कालीन जम्मु–काश्मीरमा जुन देशबाट पहिला आक्रमण हुन्छ आफू अर्को देशसँग मिल्न जाने हरिसिँहको घोषणा थियो भने शेख अब्दुल्ला संसदीय राजतन्त्रसहितको जम्मु–काश्मीर चाहन्थे। सन् १९४७अक्टुबर २२ मा पाकिस्तानले सिद्धान्तअनुरूप नै मुस्लिम बहुल क्षेत्र भएका कारण आफूमा मिल्नुपर्ने भन्दै केही अर्धसैनिक बल प्रयोग गरेर काश्मीरमाथि आक्रमण ग¥यो। अक्टुबर २५ मा पाकिस्तानी सेनाले श्रीनगरभन्दाकेही वरको बारामुल्ला शहर कब्जा गरेपछि राजा हरिसिंहले अक्टुबर २६ मा जम्मु–काश्मीर भारतसँग रहने सम्झौता गरिदिए। त्यसयता यो क्षेत्र विवादमा नराम्ररी जेलिएको छ।

पाकिस्तान यो सम्झौतालाई अस्वीकार गर्छ। यो समस्यालाई संयुक्त राष्ट्रसंघमार्फत् समाधान गर्न जवाहरलाल नेहरुले प्रयास गरेका थिए। सन् १९४९ जनावरी १ मा संयुक्त राष्ट्रसंघको निर्णय नं. ४७ले युद्धविराम गर्ने, ज–जसका सेना जहाँ–जहाँ पुगेका छन् त्यसलाई नै युद्ध विराम रेखा मानी ‘लाइन अफ कन्ट्रोल’ निर्माण गर्ने र जनमत सङ्ग्रह गरी समस्याको हल गर्ने। तर आजसम्म पनि जनमत सङ्ग्रह हुन सकेको छैन। र,नेहरुको यो नीतिप्रति बल्लभभाइ पटेल पनि सन्तुष्ट थिएनन्। चीन–भारतबीच सन् १९६२ मा भएको युद्धपछि चीनले पनि जम्मु–काश्मीरको उत्तरी र उत्तरपूर्वसहित २० प्रतिशत भूगोल लिएको छ भने भारतसँग जम्मु, काश्मीर र लद्दाखसहित ४३ प्रतिशत पूर्वी,दक्षिणी भूमि छ र पाकिस्तानसँग गिलगिट, बलुचिस्तान र मुजफ्फरावादसहितको पश्चिम र दक्षिणसहित३७ प्रतिशत भूमि छ।त्यसैले यो समस्या त्रिआयमिक बन्न पुगेको छ।

भारत शासित जम्मु–काश्मीरमा फारुक अब्दुल्ला शासनमा आएपछि यहाँको आन्तरिक स्थिति बिग्रन गइ सन् १९८९ देखि सुरु भएको इस्लामिक विद्रोहका कारण करिब ४७ हजार मानिसको मृत्यु भएको तथ्याङ्क छ। सन् १९९० ताका करिब ३ लाख काश्मीरी पण्डितले काश्मीर छाड्नुपरेको थियो। यी सबै विषयको पृष्ठभूमिमा भारत पाकिस्तान शासित जम्मु–काश्मीरको हात मान्छ। आफ्नो क्षेत्रमा आतङ्कवादी गतिविधि हुनुमापाकिस्तान संलग्न रहेको भारतको दृष्टिकोण देखिन्छ।

यही फाल्गुण २ गते गुडिरहेको सैनिक गाडीलाई लक्षित गरी पुलवामामा भएको आक्रमणमा करिव ४६ भारतीय सैनिकको मृत्यु भएपछि फेरि भारत–पाकिस्तान तनाबको स्थितिमा छन् । पुलवामा आक्रमणको जिम्मेवारी मसुद अजहर नेतृत्वको आतङ्ककारी समूह जैस–ए–मोहम्मदले लिएको छ । जैस–ए–मोहम्मद सन् १९९९ डिसेम्बर २४ मा नेपालबाट भारत उडेको आईसी ८१४ विमान अपहरण गर्ने आतङ्ककारी समूह पनि हो । आतङ्कारी समूहले जिम्मेवारी लिएपनि भारतले पाकिस्तानलाई दोषी मानेको देखिन्छ । र युद्धोन्मुखी पछिल्ला घटनाक्रमहरु हुन गएका छन् ।

Check Also

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक

नेपालयटाईम्स/गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक काठमाण्डौं – चिरपरिचित गायक प्रमोद खरेलको स्वर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *