खोजि गर्नुहोस..

यशोधरामा कमिशनको जालो: शिक्षा अनुदानमा अनियमितता

कपिलवस्तु, २३ फागुन । गाउँपालिका अध्यक्षको कमिसन सङ्कलन एजेन्टको आरोप लागेका यशोधराका करार कर्मचारी दृग नारायण मिश्राले अर्को अनियमितता गरेको आरोप छ । निजामती सेवा प्रशासन, स्थानीय तह सञ्चालन कार्यविधि र सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै ३ वटा शाखा प्रमुखको जिम्मेवारी हत्याएका मिश्राले पालिकाका सामुदायिक तथा धार्मिक विद्यालयमा हस्तक्षेप गरि सास्ती दिएको बताइन्छ । पालिकामा रहेका २७ वटा सामुदायिक तथा १३ धार्मिक (मदरसा) को विकासका लागि आएको अनुदान रकम एउटै सप्लायर्सबाट खरिद गर्न दबाब दिएको आरोप छ ।

एमालेबाट निर्वाचित पालिका अध्यक्ष शिवदयाल तिवारीको दबाबमा महत्वपूर्ण मानिने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बनेका मोहित भनिने दृगनारायण मिश्राले यूएसएडको विद्यालय सुधार कार्यक्रमका लागि आएको अनुदानबाट आवश्यक सामाग्री खरिद प्रकृयामा हस्तक्षेप गरेको विद्यालय व्यवस्थापन समितिहरूको आरोप छ । यूएसएडको प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम अन्तर्रगत पालिका भित्रका सबै विद्यालयलाई ५ लाखको दरले अनुदान सम्झौता भएको थियो । तर अनुदान कटौती निर्णय लगत्तै सबै विद्यालयको खातामा ३ लाख रकम पुगेको थियो ।
रकम खातामा गएको १ साता भित्रै सबै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रअलाई बैठक राखेरै मिश्राले तौलिहवा स्थित स्वागत स्टेसनरी एण्ड सप्लायर्स वा उसले तोकेका व्यक्ति वा फर्म बाट सेवा वा वस्तु खरिद गर्न निर्देशन दिएका थिए । विद्यालय आउने बालबालिकाहरूका लागि आवश्यक पर्ने डेस्क, बेन्च, खेलकुदका सामाग्री खरिद, भित्ताहरू रङ्गरोगन, सजावट, चित्रकला निर्माण, शैक्षिक वस्तुहरू खरिद गर्नुपर्ने कार्य सिधै तोकेकै स्थानबाट किन्न भनिएको बैठकमा सहभागी मदरसा व्यवस्थापन समितिका एक अध्यक्षले बताएका छन् । “त्यो सप्लायर्सबाट किनेनौ भने पालिकाबाट आउने अरु अनुदान रोक्छु र बाँकी आउने २ लाख समेत रोक्छु” भनेर मिश्राले धम्की दिएको अध्यक्षले दाबी गरे ।
सार्वजनिक खरिद ऐन अन्तर्रगत १ लाख भन्दा माथिको कुनै वस्तु तथा सेवा खरिद गर्दा कोटेसन पेश गर्ने सार्वजनिक सूचना टाँस गर्नुपर्ने हुन्छ । तर मिश्राकै दबाबमा अधिकांश विद्यालयले प्रकृया छलेर स्वागत स्टेसनरी तथा सप्लायर्स वा उसले तोकेका स्थानबाट काम गराएका छन् ।

पालिका कर्मचारी श्रोतका अनुसार शिक्षा शाखा प्रमुख मिश्राले सप्लायर्स मार्फत कामको ३० प्रतिशत कमिसन पाउने भएकाले विद्यालय प्रशासनलाई जबर्जस्ती खरिद गराएको बताएका छन् । “मिश्रा जी लाई पालिका अध्यक्षकै आर्शिवाद छ, कसैले केहि गर्न सक्दैनन् विरोध गर्नु पनि बेकार छ,” ति कर्मचारीले नाम नखुलाउने शर्तमा भने । शिक्षा शाखामा स्थायी नासु प्रा.स. राजु सेजवाल हुदाहुदै करारका कर्मचारी मिश्रालाई गाउँपालिका अध्यक्ष तिवारीकै दबाबमा सिंगो शिक्षा शाखा जिम्मा लगाउनु आफैमा शंकास्पद भएको उनको दाबी छ । विगतमा स्वच्छ छबि बनाएका गाउँपालिका अध्यक्ष तिवारी करार कर्मचारी मिश्राकै कारण आलोचित तथा भ्रष्टको आरोप खेपिरहेका छन् ।

यस सम्बन्धमा यशोधरा गाउँपालिकाले विद्यालयलाई आएको अनुदान रकम उनीहरुकै खातामा जाने हुदा कहाँबाट के सामान किनियो वा के सेवा लिइयो थाहा नहुने बताइएको छ । आरोप लागेका शिक्षा शाखाको जिम्मेवारी पाएका तहविहिन कर्मचारी दृग नारायण मिश्रा संग प्रतिक्रिया लिन खोज्दा ९८०७४७२१५१ मा सम्पर्क हुन सकेन ।
साभार पालिका पत्रबाट 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *